१२ मंसिर २०७८, आईतवार

नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

ktm razr vs butwal nsl
फोटो श्रोत : नेपाल सुपर लिग

नेपाल सुपर लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले खेलको पाँचौँ मिनेटमा गरेका हुन । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो ।

यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन । यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन ।

खेलको २८औं मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तर पछिको खेलको ८६ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

जीतसँगै काठमाडौंले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।