१५ चैत्र २०८०, बिहीबार

बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा, आज काठमाडौँ रेजर्ससँग भिड्दै

nepal super league 2021

नेपाल सुपर लिग अन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ ।

शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँ विरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ ।

काठमाडौँ सितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ । जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो । यसैगरी काठमाडौँ रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवल विरुद्ध मैदानमा उत्रिँदैछ । काठमाडौँले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा काठमाडौँ धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौँले पोखरासित बराबरी खेलेको थियो । बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौँ लिगको शीर्ष तीनमा उक्लिनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ ।