१५ चैत्र २०८०, बिहीबार

पाँचथरको याङवरकमा अत्यावाश्यक बाहेकका सेवा बन्द

yangwar gaupalika panchthar

कोभिड–१९ का आठ सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गरी कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि सात दिनका लागि बन्द गरिएको जनाएको छ ।

यस्तै आठ सङ्क्रमित फेला परेको याङवरक–१ को ठिङ्गेपुर क्षेत्रलाई चारकिल्ला बाँधी सिल गरिएको र सो क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ रोक लगाइएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले व्यापार–व्यवसाय समेत अर्को सूचना नभए सम्मका लागि बन्द गरेको छ भने खाद्यान्नका पसल बिहान ६ बजेदेखि १० बजेसम्म तथा अपराह्न ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने भएका छन् ।

अध्यक्ष घिमिरेका अनुसार सार्वजनिक सवारी साधनलाई बजारी क्षेत्रमा रोक्न, यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ भने सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्न निर्देशन दिइएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, खेलकूदसहितका भीडभाड हुने सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र सङ्क्रमणबाट बच्न सावधानी अपनाउन गाउँपालिकावासीमा अपिल गरेको छ । हिजो गरिएको एन्टिजेन परीक्षणमा याङवरक–१ का चार पुरुष र चार महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।