११ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा स्वीकृत, जसपाका ४ मन्त्रीको पद एक हप्तामै चैट

Shankar Pokharel
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष राजीनामा बुझाएका हुन् जुन यादवले स्वीकृत गरेका छन । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका छन् ।

प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा पोखरेल विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्ताव माथी प्रदेश सभामा छलफल शुरु हुंदै थियो । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । बैशाख ६ मा उनी विरुद्ध कांग्रेस माओवादी सहितका दलले अविश्वाशको प्रस्ताव ल्याएका थिए ।

आफू विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको केही घण्टा अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान प्रदेशप्रमुख समक्ष राजीनामा दिएका हुन ।

पोखरेलको राजिनामा पछी जसपाका बागीहरुको मन्त्री पद एक साता पनि टिकेन । मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए ।