
कोरोना भाइरस प्रभावित चीनको उहानबाट उद्धार गरी नेपाल ल्याइएका नेपालीहरू हर्षित भएका छन्।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको वाइडबडी विमान अवतरण हुँदा खुसीले ताली बजाएको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्।

सरकारले शनिबार उहानमा रहेका नेपालीलाई ल्याउन २ सय ७८ सिटे वाइडबडी विमान त्यसतर्फ पठाएको थियो। उक्त विमान १ सय ७५ जना नेपाली लिएर आज बिहान करिब ३ः२० बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

स्वास्थ्य परीक्षण गर्दा रूघाखोकी लागेका र कोरोना भाइरस सङ्क्रमण भएको पाइए उनीहरूलाई राजधानीका विभिन्न अस्पतालमा भर्ना गरिनेछ। सरकारले यसका लागि विभिन्न अस्पतालमा १ सय ४७ वटा ‘आइसोलेसन’ बेड तयार पारेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ। उनीहरूलाई १५ दिन ‘क्वारेन्टाइन’ (अलग्गै) राखिनेछ। उहानबाट उद्धार गरी ल्याइएकालाई राख्न खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारिएको छ।
क्वारेन्टाइनमा १५ दिन राख्दा कसैलाई रूघाखोकी नलागे र कोरोना भाइरसको सङ्क्रमण नभए मात्र उनीहरूलाई आ-आफ्नो घर पठाइनेछ।
सन् २०१९ को डिसेम्बर अन्तिम साता उहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। त्यसयता उक्त भाइरसको सङ्क्रमणबाट चीनमा १ हजार ३ सय ८२ जना र फिलिपिन्समा १ गरी कूल १ हजार ३ सय ८३ जनाको मृत्यु भइसकेको छ। चीनमा मात्र ६४ हजारभन्दा बढीमा यो भाइरसको सङ्क्रमण देखिएको छ। चीनलगायत विश्वका २७ देशमा ६४ हजार ४ सय ३५ जनामा यो भाइरस भेटिएको छ।
कोरोना भाइरसको कारण हुबेई प्रान्तमा भयावह स्थिति सिर्जना भएपछि विश्वका ३३ भन्दा बढी देशले त्यहाँबाट आफ्ना नागरिकको उद्धार गरेका छन्।
उनीहरुलाई त्यहाँ १५ दिनसम्म ‘क्वारेन्टाइन’मा राखिनेछ। तस्विर रासस