१३ बैशाख २०८१, बिहीबार

पिपिई सेट लगाएका स्वास्थ्यकर्मीलाई ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’

PM Dhangadi Nurse

लामो समय पिपिई सेट लगाएर कोरोना सङ्क्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मीमा समस्या आइरहेको तपाई हामीले सुनेका देखेका छौ ।

अब ती समस्याको समाधान गर्न कैलालीका एक युवाले स्वास्थ्यकर्मीले प्रयोग गर्न मिल्ने ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन् । युवा प्रविधि अनुसन्धानकर्ता काइचो ग्रुपका सदस्य घोडाघोडी नगरपालिका–१० पहलमानपुरका २६ वर्षीय सुमन पौडेलले सो उपकरण तयार गरेका हुन् । उहाँले स्वास्थ्यकर्मीले पिपिई लगाएको समयमा स्वच्छ हावा लिई काम गर्न मिल्ने गरी सो उपकरण बनाउनुभएको हो ।

उहाँले भन्नुभयो “ मैले कारोनाका बिरामीको सहज उपचारमा सहयोग पुर्‍याउन नयाँ उपकरण तयार गरेको हुँ ।” उपकरणलाई ‘श्वास’ नाम दिइएको छ । उपकरण कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेरमा काम गर्ने स्वास्थ्यकर्मीको श्वास प्रश्वासमा समस्या नआवोस् भनेर निर्माण गरिएको हुनाले श्वास नाम दिइएको उहाँले बताउनुभयो ।

पिपिई सेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई स्वच्छ हावा मुखसम्म पुर्‍याउन सो उपकरणले मद्दत गर्ने छ । उपकरणको प्रयोगले स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा जुट्न सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

उपकरण प्रयोग गर्दा आफूलाई पिपिई लगाएर काम गर्न पहिले जस्तो अप्ठ्यारो नलागेको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत नर्स सुस्मा विकले बताउनुभयो । सामान्य अवस्थामा पिपिई लगाएर काम गर्दा भन्दा पोर्टेबल भेन्टिलेटर लगाएर काम गर्दा आफूलाई सहज अनुभव भएको उहाँको भनाई छ ।

यस उपकरणमा हावा फिल्टर गर्न एन नाइन्टी फाइभ माक्सको प्रयोग गरिएको छ । ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ ।

बढ्दो महामारीको अवस्थामा आफूहरूले सस्तो सुलभ किसिमले सबैले सेवा लिन सकुन भनेर उपकरण बनाएको र छिट्टै विभिन्न स्थानमा रहेको कोरोना अस्पतालदेखि लिएर सम्पूर्ण अस्पतालमा प्रदान गर्ने पौडेलको भनाइ छ ।