१५ चैत्र २०८०, बिहीबार

मोरङमा ९६६ महिला बेपत्ता

human trafficking
सांकेतिक तस्विर

नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको पाइएको छ ।

उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमा लगायतका नजिकका आफन्तले भारत तर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

माइती नेपाल मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षको अवधिमा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ । सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापा जिल्लाका महिलालाई बेचबिखनबाट रोक्न सफल भएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रबाट उद्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचबिखन गर्न लगिएका युवती तथा महिलालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाइएको संयोजक पोखरेलले बताउनुभयो । मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको नेपालको कार्यालयमा उजुरी दर्ता भएको छ ।

अधिकांश महिलालाई भारतमा राम्रो रोजगारी लगाउने प्रलोभन देखाएर लग्ने गरेको पीडित महिलाबाट जानकारी प्राप्त भएको छ । भारत लगायत तेस्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुलाई बेपत्ता बनाएको माइती नेपालले जनाएको छ ।

गत एक वर्षमा ११ वटा करणीका घटनामा कार्यालयमा उजुरी परेकामध्ये १८ वर्षदेखि २६ वर्षमुनिका रहेका छन् । यस्तै अघिल्लो वर्ष सातवटा करणीको उजुरी परेको संयोजक पोखरेलले जानकारी दिनुभयो । यस वर्ष २५ वटा घरेलु हिंसाका घटनाको उजुरी परेको छ । अघिल्लो वर्ष १७ वटा दर्ता भएका थिए ।

कोभिड–१९ का कारण विराटनगरको रानी सीमा नाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभन देखाई युवती तथा महिलालाई भारत तर्फ बेचबिखनका लागि पु¥याउने गरेको कार्यालयले जनाएको छ । यद्यपि कोभिड–१९ का कारण विगत वर्षभन्दा यस वर्ष चेलीबेटी बेचबिखनका घटनामा केही कमी आएको छ ।

बिचौलियाले युवतीलई मिस कल गर्ने, छोटो सन्देश पठाउने, फेसबुक, इमेल गायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ बेच बिखनका लागि लग्ने गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीमा जनचेतना बढाउनुपर्ने बताउनुभयो ।