१६ चैत्र २०८०, शुक्रबार

सुर्खेत र नेपालगन्जमा संक्रमित बढेपछी हुम्ला भित्रिने मुख्य नाकामा कडाइ

Humla District Final

जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदल मार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ ।

हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ । त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरु गरिने भएको छ ।

त्यसैगरी जिल्लामा प्रवेश गर्ने नागरिकको तीन पुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने भएको प्रजिअ आर्चायले बताउनुभयो ।

जिल्ला स्तरका र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन स्थापना तत्काल गरिने भएको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन शय्याको आइसोलेसन रहेको र अन्य उपचारका सामग्री अभाव भएको डा टसी आङ्जुले जानकारी दिनुभयो । नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हुम्लाका नागरिकलाई थप समस्या बनाएको छ ।

एकमात्र हवाई यातायाता मार्फत निर्वाध रूपमा नेपालगञ्ज–सुर्खेतबाट यात्रु ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेपछि स्थानीयवासी त्रसित भएका छन् । नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको अवस्था हेरेर एक हप्तासम्म कडाइका साथ स्वास्थ्य सुरक्षा सावधानी अपनाएर उडान गर्न आवश्यक रहेको स्थानीयवासी हेमन्त बोहराको भनाइ छ ।

सिमकोट विमानस्थलमा सुरक्षा तथा स्वास्थ्य जाँच फितलो छ । सिमकोट गाउँपालिका तथा जिल्ला कोभिड व्यवस्थापन समितिले खासै चासो नदिँदा जिल्ला बाहिरबाट आउने यात्रुहरुलाई विमानस्थलमा ज्वारो जाँच गरेको आधारमा छाडिने गरेको छ । जिल्ला बाहिरबाट आउने यात्रुलाई कम्तीमा एक हप्तासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि त्यसो नभएको पाइएको छ ।

गत वर्ष पनि यस्तै लापरवाही तथा हेलचेक्र्याइँ गरेका कारण बाहिरबाट आउने यात्रुबाट कोरोना सङ्क्रमण हुँदा जिल्लामा भयावह स्थिति सिर्जना भएको थियो ।

कुनै दिन कोरोना सङ्क्रमित देखिएको समयमा उनीहरुलाई राख्ने क्वारेन्टिन तथा आइसोलेसन समेत छैन । जिल्ला अस्पतालमा जम्मा तीनवटा आइसोलेसन छ भने जिल्ला बाहिरबाट आउने यात्रुलाई राख्नका लागि क्वारेन्टिन नभएर यसको पूर्वतयारीमा सम्बन्धित निकाय मौन छ ।