७ बैशाख २०८१, शुक्रबार

धरहरामा ३३० किलोको गजुर

dharahara gajur

पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचन सहित बिहान ८:०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली सहितको सहभागितामा गजुर राखिएको हो ।

उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।” उहाका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गर्नुभएको थियो ।

अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११:०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ ।

भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्मको समय कुर्नुपर्नेछ ।

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो ।