११ बैशाख २०८१, मंगलवार

कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन : सभापति देउवा

sherabadhur
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताउनु भएको छ ।

नेपाल विद्यार्थी सङ्घको ५२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताउनुभएको हो ।

कार्यक्रममा सभापति देउवाले नेविसङ्घको केन्द्रीय कार्य समितिलाई तत्काल पूर्णता दिने प्रतिबद्धता पनि जनाउनुभएको छ । तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने भन्दै सभापति देउवाले देश विकास गर्न युवा विद्यार्थीको ठूलो भूमिका रहने बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टी सभापतिले नयाँ सरकार गठन र सञ्चालनका लागि नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो । सत्तारूढ पार्टी भित्रको किचलोका कारण नेपाली जनताले दुःख खेप्नु परेको भन्दै महामन्त्री कोइरालाले अब कांगे्रसले सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्य सहित अगाडि बढिराखेको आरोप लगाउनुभयो । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि पनि उहाँले धारणा राख्नुभयो ।

नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सिनाले लामो समयदेखि खाली रहेका केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग राख्नुभएको थियो ।