८ बैशाख २०८१, शनिबार

माडीको अयोध्याधाममा राम, सीता मूर्ति, काठमाडौँबाट रथ सहित कलशयात्रा

ram sita with pm oli 21612692482 1024x683 1

माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभा यात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति ल्याइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाइएका ती मूर्ति चैत ७ गते प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुने भएको हो । अयोध्याधाम व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौँको राम मन्दिरबाट स्वस्ती वाचन सहित प्रधानमन्त्रीले ती मूर्ति हस्तान्तरण गर्ने जानकारी दिएको छ ।

समितिका संयोजक तीर्थराज भुसालका अनुसार हस्तान्तरण पछि बग्गी, रथ सहित कलशयात्रा र करीब ५०० वटा सवारी साधनसहित शोभायात्रा चैत ७ गते काठमाडौँबाट चितवनका लागि प्रस्थान गर्नेछ । नागढुङ्गाबाट बग्गी काठमाडौँ फर्कनेछ भने चार वटा गाडीमा चार वटा मूर्ति सहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन साँझ ४ देखि ५ बजेको समयमा दासढुङ्गामा शोभायात्रामा सहभागीलाई स्वागत गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार सो दिन साँझ उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै हुनेछ । चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उक्त शोभायात्रा पुनःदासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिम चोक हुँदै माडी जानेछ ।

माडीमा पुगेपछि पर्शुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो । दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्ति राखिनेछ । माडीमा ९०० सवारीसाधन र चार हजार भक्तजनलाई खान बस्नको व्यवस्था गरिएको दवाडीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानुजयन्तीका अवसरमा भगवान् रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताउनु भएपछि उक्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका काम अगाडि बढेका छन् । माडी नगरपालिकाले धाम व्यवस्थापनका लागि १०० बिघा जमीन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब रु चार अर्ब खर्च लाग्ने जनाइएको छ ।