७ बैशाख २०८१, शुक्रबार

चितवनको माडी स्थित अयोध्या धाममा राम, सीता मूर्ति स्थापनाको तयारी

ram sita with pm oli 21612692482 1024x683 1

चितवनको माडी नगरपालिका–९ अयोध्या धाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति आउँदो वैशाख ७ गते काठमाडौँबाट ¥यालीसहित ल्याइने र वैशाख ८ गते कार्यक्रम सहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो । मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन् ।

कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको छ ।

बैठकले माडी र ¥यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी सक्रियरुपमा काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

अयोध्या धाममा सरसफाइ, निर्माण र सहयोगको काम अगाडि बढिरहेको अयोध्या धाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिनुभयो । अयोध्याधाम निर्माणको लागि आर्थिक तथा जिन्सी सहयोग आइरहेका छन् ।

निर्माण कार्य तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको छ ।