१५ चैत्र २०८०, बिहीबार

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा स्टार्ट अपसँग आवेदन माग

fncci chamber of commerce

नेपाल उद्योग वाणिज्य महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्य योजनाअनुसार मेन्टरसीप सहयोग सहित महासङ्घका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आजदेखि आवेदन आह्वान गरेको छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ । समितिले गत चैत ९ मा पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासङ्घको वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ ।

महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताको समूहमा रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ । नव प्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना-स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनीरूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् ।

आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।