१६ चैत्र २०८०, शुक्रबार

हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

chano udayo

शनिबार साँझ आएको भीषण हावाहुरी सहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरी सहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।

हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिनुभयो । उहाँका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ ।

घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताउनुभयो । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन राना मगरको टनेल हाउसमा पनि क्षति पुगेको छ । “वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।