८ बैशाख २०८१, शनिबार

२७ औं आईजीपी ठाकुर ज्ञवाली को हुन् ? ५ महिने आईजीपी

Thakur Gyawali new IGP

नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । सरकारले ज्ञवालीलाई २७ औं आईजीपीको रुपमा नियुक्त गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रहरी नियमावलीबाट ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने अन्तिम कसरत असफल भएपछि सर्वेन्द्र खनाल अनिवार्य अवकाशमा गएपछि नयाँ आईजीपीको खोजी सुरु भएको थियो ।

को हुन् आईजीपी ज्ञवाली ?

प्युठानको साविक बादीकोट गाविस (हालको झिम्रुक गाउँपालिका–१) मा २०२२ असोज २८ गते जन्मिएका ज्ञवाली मध्यमवर्गीय परिवारका हुन् । ठाकुर बाबु नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीका माइला छोरा हुन् । स्थानीय मच्छी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी स्नातक तहको अध्ययन सकेर प्रहरीमा भर्ना भएका थिए । शालीन र भद्र स्वभाव भएका आइजीपी ठाकुर प्रहरी सङ्गठभित्र विवादरहित मानिन्छन् ।

उनले कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०४७ असार २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवालीले प्रहरीको नेतृत्व पाँच महिना सम्हाल्नेछन् ।

द्वन्द्वकालका बेला प्रहरी निरीक्षक हुँदा उनले रुकुममा बसेर दुईपटक काम गरे । सेवा प्रवेशको ११ वर्षपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भए । डीएसपी हुँदा बुटवल, अपराध महाशाखा लगायतमा रहेर कार्यसम्पादन गरे ।

प्रहरी उपरीक्षक (एसपी) का रुपमा उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित दाङ, बारा र झापा जिल्लाको कुशल नेतृत्व गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर पनि काम गरेको अनुभव ज्ञवालीसँग छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे ।

यो अवधिमा उनी कुनै विवादमा परेनन् । ज्ञवाली प्रहरी संगठनभित्र व्यवसायिक, इमान्दार र स्वच्छ छवी भएका अफिसरको रुपमा परिचित छन् ।

ज्ञवालीका भाइ पनि नेपाल प्रहरीमा आबद्ध छन् । एसएसपी श्याम ज्ञवाली ठाकुरका भाइ हुन् । उनी अहिले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत छन् । ज्ञवालीका बुवा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट हुन् ।

५ महिने आईजीपी

ठाकुर सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । उमेर हदका कारण उनी २४ असारमा अवकाश पाउनेछन् । विगतमा जस्तो यसपटक महानिरीक्षकका लागि तीब्र प्रतिष्पर्धा पनि देखिएन ।

के सुल्झिएला त निर्मला हत्याकाण्ड ?

२०७५ साउनमा कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षे किशोरी निर्मला हत्याकाण्डका दोषीलाई कठघरामा ल्याउनु ठाकुरको पहिलो चुनौती हो ।

सरकारसमेत आलोचित भएको निर्मला हत्याकाण्डको कसी अहिलेसम्म टुंगिन सकेको छैन ।

देशभर निर्मलाको न्यायको लागि भन्दै आन्दोलन भएपनि अहिलेसम्म दोषी को हो ? भन्ने पत्ता लाग्न सकेको छैन । यसअघि गरिएका अनुसन्धानहरू विवादित बन्दै गइरहेका छन् ।

देशभित्र बढिरहेका हत्या, बलात्कार, चोरी, तस्करी लगायतका घटनाहरू न्यूनीकरण गर्नु ठाकुरको दोस्रो चुनौती हुनेछ ।

प्रहरीमा देखिएको फेक इन्काउन्टरको प्रवृत्तिलाई निस्तेज पारेर प्रहरीप्रति आम जनताको धारणामा सकारात्मक परिवर्तन ल्याउने जिम्मा अब ठाकुरकै काँधमा आएको छ ।

नयाँ आईजीपीका प्रतिबद्धताः
आईजीपी ज्ञवालीले प्रहरी संगठनभित्रका विकृतिहरुलाई निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरे । ज्ञवालीमाथि तत्काल निर्णय गर्ने क्षमता नभएको भनेर आलोचना भए पनि उनी त्यसलाई स्वीकार गर्न तयार छैनन् । उनी भन्छन्, ‘क्वीक डिसिजन गर्दा त्यसको असर के हुन्छ भनेर पनि त बुझ्नु पर्यो नि !’

उनी आफूलाई परिस्थितिअनुसार बाँङ्गो टेडो गर्न माहिर भएको बताउँछन् । उनी कानुन कार्यान्वयनका क्रममा सोझोपन र सरलपन नहुने बताउँछन् । ‘अवस्थाअनुसार म त्यतिकै बाँङ्गो टेडो पनि छु’, उनी भन्छन् ।

सर्वेन्द्र भन्दा अब्बल बन्ने सौभाग्य

सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधि पुगेकाले मंगलबारबाट अनिवार्य अवकाश पाएका छन् । खनालले अवकाश पाएसँगै आईजीपी ज्ञवालीले प्रहरी नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

नयाँ आईजीपी ज्ञवालीमाथि खनालले विवादित बनाएका मुद्धालाई सिलसिलेवार रुपमा सल्ट्याउनुपर्ने चुनौती र अवसर दुवै छ । २०७४ फागुन २८ मा डीआईजीबाट आईजीपी नियुक्त हुनु अगाडि सर्वेन्द्र खनाल आशा गरिएका प्रहरी अफिसरको रुपमा परिचित थिए ।

उनी डीआईजीसम्म ‘कम प्रहरी अधिकृत र बढी सेलिब्रेटी’ का रूपमा चिनिए । उनी नेतृत्वमा आएपछि नागरिकका मात्रै होइन, संगठनभित्र पनि सुधारका प्रयास हुने अपेक्षा थियो । तर, संगठनभित्र उच्चस्तरको प्रस्तुती खनालबाट भएन । खनालभन्दा ज्ञवालीबाट अझ धेरै आशा गरेको छ ।

आईजीपी खनाल चर्चित काण्ड निर्मला हत्या काण्ड, प्रहरीभित्र खरिदमा भ्रष्टाचार, नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको ‘फेक इन्काउन्टर’, सरकारको परराष्ट्रनीति विपरित भारतलाई समर्थन गरेको र सन्दिग्ध चिनियाँसंग उठबस गरेको भन्दै बिवादमा रहे । आईजीपी ज्ञवालीले खनालको कार्यकालमा नसल्टिएका यी मुद्धाहरुको टुंगो लगाउनुपर्नेछ ।

आईजीपी ज्ञवालीको कार्यकाल पाँच महिनाको हुनेछ । नयाँ आईजीपीलाई छोटो समयमा धेरै काम गर्नुपर्ने चुनौती काँधमा आएको छ । पाँच महिनाको अवधिमा उनीमाथि ८६ हजार फौजको समस्याहरु समाधान गर्नुपर्ने चुनौती छ । पाँच महिनाको अवधि आफैंमा छोटो समय हो । उनले छोटो समयमा प्रहरी संगठनभित्रका काम गर्न सके अझै उत्कृष्ट ठहरिने छन् ।

उनी छोटो समयका लागि आईजीपी बन्ने भएकाले अहिले एआईजी बढुवाका लागि दौडधुप बढेको छ । आईजीपी नियुक्तिभन्दा एआईजी बढुवाका लागि भइरहेको प्रतिष्पर्धा रोचक छ ।