७ बैशाख २०८१, शुक्रबार

दिल्लीमा आम आदमीको ह्याट्रिक, मोदीले दिए केजरीवाललाई बधाई

kejriwal

भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले भारी बहुमतका साथ चुनाव जित्ने निश्चित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबार बिहानदेखि आउन थालेको हो। साँझसम्म धेरै ठाउँमा अन्तिम नतिजा आइसकेको छ।

चुनावमा भारतीय जनता पार्टी नराम्ररी पराजित भएको छ। मतगणना जारी रहँदा आपले ६२ सिट जित्ने देखिएको छ भने भाजपा ८ सिटमा खुम्चिने भएको छ।

आमआदमीको भारी बहुमत पक्का भएपछि प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर मार्फत मुख्यमन्त्री समेत रहेका आमआदमीका अध्यक्ष अरविन्द केजरीवाललाई बधाई दिएका हुन्।

उनले भनेका छन् – आमआदमीलाई बधाई छ, दिल्लीका जनताको आकांक्षा पुरा गर्ने शुभकामना पनि दिन चाहन्छु।

अहिलेसम्मको मतगणना अनुसार आमआदमी पार्टीले ४६ सिट जितिसकेको छ। साथै अन्य १६ सिटमा अग्रता कायम गरेको छ। दिल्लीका ७० सिटमध्ये उसले धेरैजसो सिट हात पारिसकेको छ।

भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी९भाजपा०ले दिल्लीमा ६ सिट मात्रै हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिइरहेको छ।

आम आदमी पार्टीले ९० प्रतिशत सिट आफ्नै नाममा बनाउने भएपछि फेरि केजरीवालकै सरकार बन्ने भएको छ। दुई पटक मुख्यमन्त्री रहिसकेका केजरीवाल यसपालि पनि मुख्यमन्त्रीका दाबेदार हुन्। उनले मुख्यमन्त्रीमा ह्याट्रिक गर्ने भएका छन्।

यसअघि सन् २०१३मा केजरीवाल ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए। त्यसैगरी सन् २०१५को विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जित हासिल गरी आम आदमी पार्टीले सरकार बनाएको थियो। एजेन्सी