८ बैशाख २०८१, शनिबार

वुहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने सरकारको निर्णय

gov

चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको वैठकले वुहानमा फसेका १८० जनालाई लिन विमान पठाउने निर्णय गरेको हो ।

बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताए ।

पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको जानकारी दिए ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि लामो समयसम्म छलफल गरेपनि राख्ने ठाउँको टुंगो लगाउन नसक्दा उनीहरुलाई स्वदेश ल्याउने मिति तय गर्न सकेको थिएन ।

चीनबाट स्वदेश फर्काइने नेपालीहरुलाई सुरक्षित तवरले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने व्यवस्था मिलाएसँगै सरकारले उनीहरुलाई फागुन ३ गते नेपाल ल्याउने टुंगो लगाएको हो ।

चीनबाट स्वदेश फर्किनका लागि १ सय ८० जनाले आवेदन समेत दिइसकेका छन् । उनीहरुले आफूहरु चीनमा हालसम्म सुरक्षित रहेको भन्दै चाँडो भन्दा चाँडो नेपाल सरकारले उद्दार गरोस् भन्ने आग्रह गर्दै आएका थिए ।

४३ ओटा ‘आइसोलेसन’कक्ष तयारी अवस्थामा

यता, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फिर्ता ल्याइने नेपालीहरुको स्वास्थ्य उपचारका लागि पाटन, वीर र टेकु अस्पतालमा ४३ ओटा ‘आइसोलेसन’कक्ष तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार भएको बैठकमा मन्त्री ढकालले ‘क्वारेन्टाइन’मा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका चारओटा भवन तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले विद्यार्थीसहित १८५ जनालाई एउटै जहाजमा ल्याउने तयारी भएको जानकारी दिए ।

समितिका सदस्यहरुले भने सरकारको तयारी फितलो देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।