fbpx
२९ बैशाख २०७८, बुधबार

मध्यपुर थिमिमा नयाँ वर्षमा चार दिन सार्वजनिक बिदा

नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्य रूपमा मनाउने भएपछि नगरपालिकाले पहिलो पटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले विगतका वर्षहरुमा वैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा दिँदै आए पनि गत वर्ष १ र २ गते सार्वजनिक बिदा दिएको थियो । नगरपालिकाले यस वर्ष भने चैत ३१ गतेदेखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

“हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्य रूपमा बिस्केट जात्रा मनाइन्छ, यहाँका स्थानीय बासिन्दाका लागि यो ठूलो चाडपर्व हो, यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर मनाइन्छ, बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ”, उहाँले भन्नुभयो, “ बिदाको अभावमा यहाँका बासिन्दाले आफ्नै चाड पनि राम्रोसँग मनाउन नसक्ने अवस्था रहेकाले यस वर्षदेखि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

”बिस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्ला भरिमा नेवार समुदायले दशैँ भन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् । मठ मन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र बिस्केट जात्रामा आफ्ना सबै नातेदार, आफन्तलाई बोलाएर भोज खुवाएर नौ दिन आठ रातसम्म भव्य रूपमा मनाउने गरिन्छ ।

आजै मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको सहभागितामा स्थानीयवासीले लिङ्गो उठाएका हुन् । तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयवासीले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवत रूपमा शुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज शुरु हुने परम्परा छ ।

महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि शुरु भएको मानिन्छ । यहाँ आजै कुमारीको रथ लहीटोलमा पुर्‍याइन्छ भने राति करिब ९ बजे जिब्रो छेड्ने बुद्धकृष्ण वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।

आज ब्रत शुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नहुने, कुकुर, कुखुरा, बिरालो लगायतका पशुपक्षीलाई छुन नुहने परम्परा रहेको छ । मध्यपुर थिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्वहरु स्थानीयवासीले भव्य रूपमा मनाउने गरेका छन् ।