१५ चैत्र २०८०, बिहीबार

स्वास्थ्य मापदण्ड बमोजिम सेतो मच्छेन्द्रनाथको रथयात्रा, वैशाख ७ गतेदेखि रथयात्रा शुरु

Chairot for seto Machindranath
फाइल फोटो

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ ।

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ । कोरोना नसर्ने गरी सतर्कता अपनाएर रथयात्रा गर्ने गरी विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

विभिन्न उपसमिति गठन गरेरपछि दूरी कायम गरी जात्रा सम्पन्न गर्न सकिने जनाइएको छ । वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पूजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद् लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले छलफल कार्यक्रम आयोजना गर्न लागेको संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठाशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताउनुभयो । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । तीनधारा पाठशाला अघिको मूल सडकमा चैत्र शुक्ल प्रतिपदा अर्थात् आजदेखि रथ निर्माण शुरु हुने जनाइएको छ । रथ निर्माणका लागि काठ लगायत व्यवस्था भइसकेको गुठी संस्थान काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो ।

अष्टमीका दिन बिहान सेतो मच्छेन्द्रनाथको खट मच्छेन्द्र बहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा पहिलो दिन असनमा लगेर राखिन्छ । राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा गरिसकिएको समितिले जनाएको छ ।

यस वर्ष वैशाख ७ गतेदेखि रथयात्रा शुरु हुने समितिको संयोजक समेत रहनुभएका काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष शाक्यले बताउनुभयो । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको उहाँले बताउनुभयो ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहज रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले सुनाउनुभयो । रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षित रुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गर्ने तयारी समितिको छ ।

जात्रामा सहभागी हुनुअघि भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ । तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाउन शुरु गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।