७ बैशाख २०८१, शुक्रबार

को बन्ला २७ औंँ प्रहरी महानिरीक्षक ? आजबाट सर्वेन्द्र खनालको विदा

next igp

नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुनुहुने छ ।

अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् । त्यो पनि प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी- नै नभई सीधै डीआईजीबाट आईजीपी हुनेछन् ।

कुनै अड्चन आएन भने नेपाल प्रहरीले आजै नयाँ नेतृत्व पाउनेछ । मन्त्रिपरिषदको आजकै नियमित बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको एकजना मन्त्रीले बताए । सम्भवतः हालका डीआईजी ठाकुर ज्ञवाली नयाँ आईजीपी नियुक्त हुनेछन् ।

प्रहरी नियमावलीबाट ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने अन्तिम कसरत असफल भएपछि नेपाल प्रहरीमा अब ९० औं ब्याजको वैकल्पिक टोलीबाटै महानिरीक्षक नियुक्ति हुने देखिएको छ ।

यो समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरी नेतृत्व बन्ने दौडमा छन् ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण २९ माघमा अवकाश पाउँदैछन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन् ।

यदि नियमावलीबाट सेवाहदको प्रावधान हटेको भए हालका आईजीपी खनालको कार्यकाल लम्बिने थियो भने खनालकै समकक्षी केदार रिजाल उनका उत्तराधिकारी बन्ने थिए । यद्यपि, सेवाअवधि नहट्ने संकेत प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले वैकल्पिक टोलीबाट नियुक्त हुने नयाँ आईजीपीको स्वागतको तयारी थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले उपत्यकाका सबै प्रहरी युनिटलाई स्वागतको तयारी थाल्न निर्देशात्मक पत्राचार गरिसकेका छन् । बिहीबारै गरिएको पत्राचारमा २९ माघका दिन नवनियुक्त प्रहरी महानिरीक्षकको स्वागत, पदवहाली तथा निर्देशन सम्बोधनको कार्यक्रम राखिएको भनिएको छ ।

पत्रमा ड्यूटीमा परेका बाहेक सबै सिनियर प्रहरी अधिकृतलाई अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ । ‘वहालवाला प्रहरी महानिरीक्षकज्यूको विदाइ र भावी आइजी सा’बको स्वागतका लागि एक साता अघिबाटै तयारी थाल्ने हाम्रो पहिल्यैदेखिको परम्परा हो’, प्रहरी नायब महानिरीक्षक (डीआइजी) क्षेत्रीले भने, ‘स्वागत विदाइको हाम्रो आफ्नै शैली भएकाले पनि अगाडिबाटै तयारी थालिन्छ ।’

प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

डीआईजी ज्ञवाली र लम्साल २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गर्नु भएको हो । वर्तमान महानिरीक्षक खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल सेवा प्रवेशमा वैकल्पिक उम्मेदवार भएका कारण पाँच महिना ढिलो नियुक्ति पाएका थिए । सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि परेका थिए ।

ठाकुर र तारिणीमध्ये एक जना सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । उमेर हदका कारण उनीहरुले २४ असारमा अवकाश पाउनेछन् ।

वरियतामा ठाकुर अगाडि रहेकाले उनी नै महानिरीक्षकका प्रबल दाबेदार हुन् । विगतमा जस्तो यसपटक महानिरीक्षकका लागि तीब्र प्रतिष्पर्धा पनि देखिँदैन ।

उनीहरु २७ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । यो टोलीका सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवा हुँदा ९१ औं ब्याचका शैलेश थापा क्षेत्री, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि परेपछि प्रतिष्पर्धामा छैनन् ।

ठाकुर र तारिणीमध्ये एक जना सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । उमेर हदका कारण उनीहरुले २४ असारमा अवकाश पाउनेछन् ।
उनीहरु छोटो समयका लागि आईजीपी बन्ने भएकाले अहिले एआईजी बढुवाका लागि दौडधुप बढेको छ । आईजीपी नियुक्तिभन्दा एआईजी बढुवाका लागि भइरहेको प्रतिष्पर्धा रोचक छ ।