१२ बैशाख २०८१, बुधबार

नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार

Narayani Hospital, Birgunj
फाइल फोटो

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।

पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।

सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटर सहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण सहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न १७ श्ययाको आइसोलेशन वार्ड तयार पारिएको नारायणी अस्पतालका स्टोर इन्चार्ज सुशील यादवले जानकारी दिनुभयो ।

उहाँले वीरगञ्जको गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा सङ्क्रमित राखी उपचार गर्ने क्रममा खरीद गरिएका उपकरण लगायतका अन्य सामग्रीलाई नै प्रयोग गरी अहिले आइसियु र आइसोलेशन वार्र्ड तयार पारिएको बताउनुभयो । तयार पारिएको आइसियु तथा आइसोलेशन वार्डलाई सके आजैदेखि नभए भोलिदेखि सङ्क्रमित राख्ने काममा प्रयोग गरिने स्टोर इन्चार्ज यादवले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको आकास्मिक कक्ष सँगैको केठामा हाल चार सङ्क्रमित र १० शङ्कास्पद बिरामी राखिएको अस्पतालले जनाएको छ । आइसोलेशन तथा आइसियु वार्डका लागि छुट्टै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । गएको एक साताभित्र नारायणी अस्पतालको प्रयोगशालामा २४७ जनाको नमूना परीक्षण गर्दा ९५ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेका छन् ।

फेला परेकामध्ये ६८ जना पर्साका र बाँकी २७ बारा, रौतहट, सर्लाही र मकवानपुरका रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सोरजरोशन दासले जानकारी दिनुभयो ।

बितेको एक सातामा सबैभन्दा बढी चैत २९ गते ६० को नमूना परीक्षण गर्दा २८ सङ्क्रमित भेटिएको डा दासले बताउनुभयो । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३० सम्म रहेको चिकित्सकले जनाएका छन् ।