६ बैशाख २०८१, बिहीबार

डढेलोले वनै खायो…

dadelo wildfire
फाइल फोटो

म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबारसम्म म्याग्दीको ११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले दैनिक पाँच÷छ ठाउँमा डढेलो लागिरहेको बताउनुभयो । ‘‘बस्ती नजिकैका प्रायः सबै भीर र जोडिएको जङ्गलमा डढेलो छ,” सहायक वन अधिकृत क्षेत्रीले भन्नुभयो, “डढेलो नलगाउने प्रचलन रोक्न अनेक प्रयत्न गरियो तर सफल भएको छैन् ।” चैत महिना शुरु भएदेखि डढेलो बढेको क्षेत्रीले बताउनुभयो ।

धौलागिरि, मङ्गला र मालिका गाउँपालिकाको उपल्लो भेगका प्रत्येक बस्ती नजिकैका वनमा डढेलो लागेको छ । वनपाखा र भीरमा लागेको डढेलोको धुवाँ र कच्ची सडकमा गाडीले उडाउने धुलोले वायु प्रदूषण बढेको छ । बेनीको वायुमा १२५ पीएम प्रदूषण देखिएको छ ।

राम्रो घाँस पलाउने गलत बुझाइका कारण गोठालाले वनमा डढेलो लगाउने गर्छन् । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले पनि वनमा आगो लगाउने गरेको कार्यालयले जनाएको छ । डढेलोका कारण वन्यजन्तु र पक्षीको बासस्थान नष्ट भएको छ । कतिपय वन्यजन्तु र पक्षीले डढेलोमा ज्यान गुमाएका छन् । जडीबुटी र स–साना बिरुवा आगोले जलेर नष्ट भएको छ ।

वन डढेलो नियन्त्रण गर्न जिल्लास्तरीय एक र छ वटै स्थानीय तहमा सब–डिभिजन डढेलो नियन्त्रण सञ्जाल गठन भएका छन् । वन कार्यालयको अभिलेखअनुसार डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी र वन कर्मचारीलाई खाजा मात्र रु एक लाख ५० हजार खर्च भइसकेको छ । डढेलो लागेको सूचना दिन सञ्जालका पदाधिकारीलाई १५ हजारको रिचार्ज कार्ड बाँडेको छ ।

‘‘खडेरीसँगै वनमा डढेलोको खबर आउन थालेको छ,’’ निमित्त डिभिजन वन अधिकृत सन्तोष खनालले भन्नुभयो, ‘‘सामुदायिक वनमा अलि कम छ, राष्ट्रिय वन जोगाउन मुस्किल छ । सामान्य सुकेको घाँस र सतहको पातपतिङ्गर मात्र जले समस्या होइन, बिरुवाको जरा नै जल्ने गरी डढेलो फैलिएको छ ।’’

म्याग्दीको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, एक्यापले तीन हजार ७५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर वन ३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ ।

जिल्लामा करीब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो । ‘‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन,’’ खनालले भन्नुभयो, ‘‘डढेलोको राम्रो अभिलेख पनि हामीसँग छैन । कर्मचारी त खटाएका छौँ तर सूचना आएको छैन । बस्तीभन्दा धेरैमाथि राष्ट्रिय वन भएकाले पनि नियन्त्रणमा चुनौती छ ।’’

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागीका कारण रुख बिरुवासँगै वन्यजन्तुको पनि नाश भइरहेको छ । वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको खनालको भनाइ छ ।