fbpx
३ जेष्ठ २०७८, सोमबार

तीनजना कर्मचारी र एउटा थर्मल गनको भरमा जमुनहा नाका, सङ्क्रमणको जोखिम बढ्दो

छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन । सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ ।

अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ । भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ ।

सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले सङ्क्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउनुहुन्छ । संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन ।

प्रभावकारी सयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेको छन् । सीमा नाकामा सङ्क्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्था भने गरिएको छैन । तीन जना कर्मचारीले एउटा थर्मलगनको भरमा भारतको उच्च जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेका छन् । कर्मचारी अभावले सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने, १० दिनसम्म क्यारेन्टिनमा बस्नुपर्ने जस्ता कुरा सिकाउन नसकिएको उहाँको भनाइ छ ।

भारतबाट आउनेलाई शङ्का र लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भनेर मात्र कक्षमा रहेका कर्मचारीले रजिष्टर्डमा टिपेपनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा सङ्क्रमण बढेपनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न बिना रोकतोक सीमा वारपार गरिरहेका देखिन्छन् ।

ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा आफूहरुले भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्नबाहेक कुनै काम गर्न नसकिएको बताउनुभयो । “भारतको उच्च जोखिम भएका ठाउँबाट मानिस आइरहेका छन् तर ती मानिसलाई सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न हामीले सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “ती मानिसबाट सङ्क्रमण फैलने जोखिम रहेको छ । बेलैमा सरकार सचेत हुनुपर्दछ ।”