१३ बैशाख २०८१, बिहीबार

पत्रकार महासंघमा जस्तै मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्नुपर्छ : प्रचण्ड

Prachanda Sambodhan pokhara
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएको उनले बताए । जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए ।

यस्तै, कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरू हुने दाबी पनि उनले गरे । उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ । हामीहरू र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ ।’

मोर्चा बन्यो भने पत्रकार महासंघको चुनावकै जस्तो हुनुपर्ने उनले बताए ।

‘देशैभरि ओलीलाई चौथो नम्बरमा पु¥याइएको छ । तपाइँ हेर्नुहोला चौथो नम्बरमा पु¥याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत ग¥यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो,’ उनले भने ।

अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी समेत गर । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास उनले गरे ।

‘हिजो मात्रै यहाँ तीन पार्टीको बैठक भयो । त्यहाँ छलफल भयो । बैठक चाहिँ राम्रो भयो । पहिलो चोटी नेपाली कांग्रेस खुलेर केपीले त बर्बादै पार्ने भए, सब प्रतिगमन नै गर्ने, सत्ता कब्जा गरेर हामी सबैलाई सिध्याउने भए भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु म,’ दाहालले भने ।

माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए । सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावादविरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको उनले बताए ।

‘हामी एकचोटि फेरि नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है फेरि । त्यही भन्यो भनेर प्रचार हुन सक्छ,’ उनले भने।

पार्टी एकता गरेर आफूले गल्ती नगरेको पनि उनले बताए । तर, केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ती भएको दाहालले स्वीकार गरे। सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ती गरेको उनले बताए ।