१३ बैशाख २०८१, बिहीबार

गैँडा गणना आज सकिने

one horned rhino
फाइल फोटो

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ । उहाँले भन्नुभयो, “ध्रुवे हात्तीले अवरोध पु¥याएको क्षेत्रमा आज गणना गरेर भोलि नतिजा सार्वजनिक गर्दैछौँ ।” बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो ।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उहाँले जानकारी दिनुभयो । हरेक पाँच-पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए ।

तथ्याङ्क अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको हो ।

यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो ।

बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइएको छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् ।