१२ बैशाख २०८१, बुधबार

केन्द्रीय कारागारका डिएसपी कैदीसँग घुस माग्दै

central jail sundhara

काठमाण्डौको सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश पण्डितले कैदी बन्दीसँग घुस लिने गरेको आरोप छ ।

पछिल्लो समय कुख्यात अपराधी चार्ल्स शोभराजको अन्तरवार्ता बेलायती अखबारमा छ्याप्छ्याप्ती छापिएको खबर सेलाउन नपाउँदै अहिले सुरक्षा इन्चार्ज पण्डितले कैदीबन्दीसँग घुस लिने गरेको समाचार बाहिरिएको हो । दुई दशकदेखि जेल जीवन बिताइरहेका शोभराजको अन्तरवार्ता कसरी बेलायती सञ्चारमाध्यममा पुग्यो भन्ने खबरले कारागार प्रशासनसमेत चकित परेको छ । बेलायतको डेलीमेल र सन्डे मिररमा ‘शोभराज छिट्टै कैद मुक्त’ हुने शीर्षकमा खबर छापिएको थियो ।

डिएसपी पण्डित माघ ६ गते महानगरीय अनाश्रित सशस्त्र प्रहरी गुल्मको प्रमुख भएर हेडक्वार्टरबाट केन्द्रीय कारागार आएका हुन् । उनी आएपछि जेलका कैदीबन्दीहरूसँग अनुचित रकमको माग गर्ने र नदिए दुर्गम जिल्ला पठाइदिने धम्की दिएको कैदीहरूले जानकारी गराएका छन् । जबकि सेन्ट्रल,भद्र र महिला कारागारमा रहेका कैदी बन्दीलाई आफन्तजनसँग चाडबाडमा जेलमै भेट गर्न दिने नियम छ ।

भेटघाटको लागि तय भएको नाम पहिले नै तालिकामा उल्लेख हुन्छ ।

त्यसरी तय भएकाहरूसँग डिएसपीले परिवारको सदस्य आउनुअघि व्यक्तिगत रुपमा भेट्दै रकम माग्ने गरेको र नदिनेलाई भेटघाट गर्न नदिने गरेको घटना बढेपछि कैदीबन्दीहरू मानसिक तनावमा देखिएको बताइन्छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका एक कैदीले नाम नबताउने शर्तमा जनआस्थालाई लेखेका छन् ‘हाम्रा नाइकेहरूसँग सोझै पैसा माग्छन् । नदिए अन्य दुर्गम स्थानका कारागार फालिदिने धम्की दिन्छन् । हामीलाई रकम नदिएसम्म भेटघाट गर्न दिँदैनन् ।’

जेल सुरक्षार्थ खटिएका कतिपय प्रहरी जवानलाई समेत उनले भैपरी आउने बिदा तथा सुविधा कटौती गरेको गुनासो प्राप्त भएको छ । आफ्नै मातहतका प्रहरी कर्मचारी रुष्ट हुन थालेको माहौल कैदीबन्दीहरूले समेत थाहा पाएका छन् । ती कैदीबन्दीले भनेका छन् ‘आफूलाई आवश्यक सामान ल्याउन लगाउने,सीधै रकम माग्ने गरेकाले हामीलाई निकै समस्या परेको छ हजुर । यसअघिका डिएसपीहरूले भने यो हदसम्म गरेका थिएनन् ।’ हाल केन्द्रीय कारागारमा महिला तथा पुरुष गरेर ३ हजार २ सय जना कैदीबन्दी छन् । जन आस्थामा खबर छ ।