१४ बैशाख २०८१, शुक्रबार

अदालतमा गच्छदार मंगलबारसम्म हाजिर नभए पक्राउ पर्न सक्ने !

vijay
फाइल फोटो

वालुवाटार स्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो ।

गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गच्छदारलाई सुरुमा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै सुनसरीमा म्याद टाँसेको थियो । अदालतले म्याद जारी गर्दा पनि उपस्थित नभएपछि दोस्रो पटक एक महिनाको समयसीमा राखेर म्याद जारी गरेको हो ।

अख्तियारले भने उनी सहित विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता गच्छदार विरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो, जरिमाना तथा कैदको माग गरिएको छ ।

उनीसँगै म्याद जारी भएका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतको आदेशमा कारागार चलान भइसकेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।