१४ बैशाख २०८१, शुक्रबार

नरैनापुरमा भीषण आगलागी : ११५ घर जल्यो, तीन घाइते

dang aaglagi B0rPJolbw3 1140x570 1

बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा ११५ घर पूर्णरूपमा जलेका छन् ।

सो क्रममा तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले सानो हेलचेक्र्याइँले ठूलो क्षति भएको बताए । ‘क्षतिको विवरण संकलन गरिरहेका छौं, राहत पनि बाँड्न थालिसकेका छौं,’ उनले भने । उनका अनुसार गाउँपालिकाले यस वर्ष विपद् व्यवस्थापनका लागि एक करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।

नरैनापुर गाउँपालिका लामो समयदेखि आगलागीको चपेटामा पर्ने गरेकाले यसको निराकरणका लागि छलफल गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘रेस्पोन्स छिटो भएकाले कुनै मानवीय क्षति भएन,’ उनले भने, ‘सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’