१२ बैशाख २०८१, बुधबार

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि स्थानीयवासी खुशी

KP Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुईवटा रणनीतिक सडक आयोजना छनोट भएको छ । तनहुँका दुई रणनीतिक सडक योजना छनोट भएसँगै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नं २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका दुई रणनीतिक सडक आयोजनाका लागि रु ४०÷४० करोड बजेट विनियोजन हुने भएको छ । व्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुशी व्यक्त गर्नुभएको छ । “वर्षौँदेखिको हाम्रो सपना वर्तमान सरकारले पूरा गर्ने भएको छ, अब कामले पनि गति लिन अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो ।

व्यास र भानु नगरपालिकाको सीमाबाट शुरु हुने उक्त मार्ग गोरखाको पालुङटारसम्म जोडिनेछ । कूल ३२ किमी दूरीको उक्त सडकको १२ किमी दूरी कालोपत्र सम्पन्न भइसकेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उक्त सडक कालोपत्रपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताउनुभयो ।

यसैगरी तनहुँ क्षेत्र नं २ अन्तर्गत तनहुँको गाईघाटबाट गल्याङसम्म जोड्ने सडक योजना छनोट गरिएको छ । तनहुँको देवघाटबाट शुरु हुने उक्त मार्ग ऋषिङ, घिरिङ, स्याङ्जाको चापाकोट हुँदै गल्याङसम्म पुग्नेछ । उक्त सडकको १७० किमी छ । हाल उक्त सडकको डिपिआर गर्ने काम शुरु भएको तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिनुभयो ।

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल÷सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुखस्थललाई जोड्नेजस्ता विषय समावेश गरिएको छ ।