१६ चैत्र २०८०, शुक्रबार

आवश्यक परे सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ

shashanka koirala
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताउनुभएको छ ।

गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उहाँले भन्नुभयो, “ नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।”

महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गर्नुभयो । “पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पु¥याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ”, उहाँले भन्नुभयो ।

महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताउनुभयो । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उहाँले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले अहिले देशमा राजनीतिक सङ्कट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएकाले अब कम्युनिष्टबाट देशको समस्या समाधान नहुने बताउनुभयो ।

कांग्रेसका नेता भीष्मराज आङेम्बेले भन्नुभयो, “जब–जब देशमा राजनीतिक सङ्कट आएको छ । त्यसको समाधान कांग्रेसले नै गरेको छ । त्यसैले अब कांग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ ।” नेपाली काँग्रेसका नेता रामहरि खतीवडा, लक्ष्मी परियार, प्रमिला राईलेलगायतले मुलुकको विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि बोल्नुभयो ।