१३ बैशाख २०८१, बिहीबार

माओवादी घाँडो भएर अलपत्र परेका प्रचण्डले माधवलाई उद्धार गर्न सक्दैनन्: मन्त्री ज्ञवाली

IMG 6345

परराष्ट्रमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले प्रचण्डको पछि नलागी एमालेमा फर्कन माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

शनिबार भरतपुरमा आयोजित स्वर्गीय एमालेका नेता जेपी. भेटवालको तेस्रो स्मृति दिवसको सन्दर्भमा आयोजित जनप्रतिनिधि तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

माधव नेपाललाई एमालेमा मिलेर अघि बढ्न आग्रह गर्दै ज्ञवालीले भने, ‘प्रचण्डले के भनिरहनु भाछ थाहा छैन ।’ माओवादीले विगतमा बहुमत ल्याएर पछि हार्दै गएको प्रसंग जोड्दै उनले भने, ‘जुन प्रचण्ड जसका लागि माओवादी पार्टीको नाम समेत त घाँडो भइसक्यो । उहाँ आफै त कुन डुङ्गा सवार गरेर पारी लाग्ने हो भनेर अलपत्र परिरहनु भएको छ । अब तपाइँहरुलाई उद्दार गर्दिनुहुन्छ भन्ने भ्रममा हुनुहुन्छ भने त्यो एकदमै गलत कुरा हो ।’

उनले थपे ‘आउनुहोस् नेकपा एमालेमा तपाइँको पनि पसिना बगेको छ । तर एमालेकै नाममा एमालेको जरा काट्ने काम नगर्नुस् ।’ ज्ञवालीले नेकपा एमालेको घरभित्र बस्ने तर त्यही घरको पिलर भत्काउन खोज्ने हो भने त्यो कुरा स्वीकार्य नहुने बताए ।
‘एमालेमा पूर्वमाओवादीका पनि नेता हुनुहुन्छ । त्यसैले यो अब नयाँ एमाले भएको छ । यो पार्टीलाई एकत्रित गरेर जानुछ’ उनले भने । अब यही एमालेलाई एकीकृत गर्दै देश विकासको सपनालाई साकार पारिने उनको भनाइ थियो ।

अदालतले पार्टीको नयाँ नाम लिएर फेरि एकता गर्न भनेको बताउँदै उनले तर पहिले नै एकता विरोधी काम गरेर पार्टी फुटाउन खोजिएकाले पुनः एकता हुन नसकेको उनले बताए । तर, केही नेताहरु एमालेमा मिल्नुको साटो समानान्तर कमिटी गठन गरेर एमालेमा पनि फुट ल्याउन खोजिरहेको भन्दै उनले माधव नेपाल समूहप्रति लक्षित गरेका थिए । पार्टी फुटाउनुभन्दा पहिले इतिहासबाट पाठ सिक्न आग्रह गर्दै उनले विगतमा पार्टी फुट्दा भएको अवस्थालाई स्मरण गरेका थिए ।

माधव नेपालले देश, जनता र लाखौं कार्यकर्ताको हित विपरीत काम गरिहेको ज्ञवालीको आरोप थियो । ‘तपाइँहरुको कामले कम्युनिस्ट आन्दोलनका विरोधीमात्र रमाइरहेका छन् । जनता असाध्यै दुःखी छन् । यो बाटो पतनको बाटो हो । यो बाटो विनासको बाटो हो । यो बाटो बाट तपाइँहरु कही पनि पुग्नु हुन्न । फर्किनुहोस्’ ज्ञवालीले माधवपक्षलाई आग्रह गर्दे भने ।

‘२३ गते अगाडि जे भो भो ती कुराहरुलाई बिर्सेर एकताको फराकिलो अंगालोमा तपाइँहरुलाई समेटन तयार छौं’ उनले भने, ‘तर एउटै सर्त हो फेरि नेकपा एमालेमा संस्थागत गुटबन्दी गर्ने । पार्टीलाई अग्रगतिको संवाहक नबनाइ किचलो हुने थाल्ने बनाउने र देश र जनताको एजेण्डा होइन नेताहरुको कहिल्यै तृप्त नहुने कुण्ठाहरुलाई भर्ने थलोको रुपमा यो पार्टीलाई प्रयोग गर्न मिल्दैन ।’

आफूहरुलाई कसैसँग बदल लिने इच्छा नभएको बताउँदै ज्ञवालीले सच्चिएर आएमा गरिएको कारबाही फिर्ता लिने बताए । हिजो महाधिवेशनबाट चयन भएका अध्यक्ष ओलीलाई सडकबाटै कारबाही गरेको भए पनि आफूहरु माधव नेपालसँग मिल्न चाहेको उनले बताए । ‘हामीहरुलाई बदला लिनु छैन । उहाँहरु हाम्रो प्रतिस्पर्धी पनि होइन् । हामीलाई देश बनाउनु छ । उहाँहरुको ठूलो समस्या पनि होइन । लडाइ पनि होइन’ उनले भने ‘ठूलो समस्या देशको गरिबी हो । बेरोजगारी हो । देशलाई समृद्ध बनाउने सपना हो ।’

जेपी भेटवालको स्मरण गर्दै ज्ञवालीले भेटवाल जनताको मनमा बस्न सफल नेता भएको बताएका थिए । सबै जनप्रतिनिधि भेटवाल जस्तो हुन सकेमा देश साँच्चै समृद्ध हुने उनको भनाइ छ ।