८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यका छिर्नेलाई कडा नियम : नाकामा एन्टिजेन परीक्षण

CORONA TES

सरकारले कोरोना भाइरसको दोस्रो महामारी रोक्न काठमाडौं उपत्यका आउने नागरिकमाथि कडाइ गर्न थालेको छ। कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढेपछि सरकारले उपत्यका छिर्ने नाकामा फेरि निगरानी बढाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको बताउँदै काठमाडौं छिर्ने नाकामा एन्टिजेन परीक्षण गरिने बताएका छन्। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय निर्णयबारे जानकारी दिँदै प्रवक्ता गौतमले काठमाडौं प्रवेश गर्ने सबै नाकामा समय समयमा एन्टिजेन परीक्षण गरिने बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने नागरिकले उपत्यका छिरेपछि पिसिआर परीक्षण गरिनुपर्ने बताए । ‘कोरोनाको दोस्रो लहरको जोखिम उच्च भएको छु’ उनले भने, ‘केही दिनयता रुघाखोकी र ज्वरो आएकाहरुलाई उपत्यका छिरेपछि पिसिआर परीक्षण गर्न पठाइरहेका छौँ ।’

स्वास्थ्य मन्त्रालयले काठमाडौं आउनेहरुलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि भनेको छ । मन्त्रालयले अब नाकाबाट आउनेको समय मिलाएर एन्टिजेन परीक्षण पनि गरिने प्रवक्ता गौतमले बताए ।

यस्तै मन्त्रालयले कोरोना परीक्षण गर्ने सरकारी र निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्‍न भनेको छ । मन्त्रालयले २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि गरेको गौतमले बताए । गौतमका अनुसार संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

आजै मन्त्रालयले देशका सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी) हरुलाई कुनै पनि भेला, सभा, जुलुस रोक्न ताकेतासहितको निर्देशन दिने निर्णय गरेको गौतमले बताए। अहिले पनि काठमाडौं छिर्नेहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधपुछ गरिरहेका छन्।