१३ बैशाख २०८१, बिहीबार

ओलीको प्रश्न : के यो देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने हो ?

kp oli womes day
फाइल फोटो

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने भनेर प्रश्न गरेका छन् ।

एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता प्रचण्डले नै च्यातेको बताए ।
‘केहीले भन्ने गरेका छन्, आधा–आधा थियो खै आधा–आधा ? भन्छन् । त्यो कागज बीचमै च्यातेर प्रचण्डले कार्यकारी चाहियो भनेको होइन ?’ उनले भने ।
यसै चैतमा महाधिवेशनको मिति तोकेर आफूले अध्यक्ष छाड्दा खोज्दा पनि अहिल्यै चाहियो भनेर विवाद गरिएको ओलीले बताए । ‘मैले भनेको हो – चैतमा महाधिवेशन गरौं, अध्यक्ष हुनुस्, महाधिवेशनको म्याद पनि तोकिएको थियो । यही २५–३० गतेसम्म अध्यक्ष माधव नेपाल भए भइहाल्थ्यो, मैले म हुन्न भन्दिएकै थिएँ । यति हतार ! तुरुन्तै चाहियो, अहिल्यै चाहियो,’ उनले भने, ‘मसँग अध्यक्षमै चुनाव लडेर हारेको मान्छे, मलाई चाहियो, मलाई चाहियो । धन्न मेरो निर्वाचन क्षेत्रको भएनन्, नत्र मलाई चाहियो भनिहाल्ने । चाहियो, चाहियो भनिहाल्ने ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता गर्ने भनेर सिध्याउन खोजेको टिप्पणी गरे । ओलीले भने, ‘एकता गर्ने, एकता गर्ने भन्यो, पछि सिध्याउन खोजे ।’

प्रचण्डले केटाकेटी जस्तो सूर्य चिह्नमा दाबी गर्दा छक्क परेको उनले बताए । ‘प्रचण्डले सूर्य चिह्न मेरो हो भन्दा छक्क परें,’ उनले भने ।

बुद्धिजीवीको मुख्य काम केपी ओलीलाई हटाउनु हो जस्तो भएको उनले बताए । ‘मुख्य काम नै केपी ओली हटाउनु हो, किनकि केपी ओलीले देश विकास गर्न थालिसक्यो । विप्लवका समस्या समाधान गरिसक्यो । मेलम्चीको पानी आइसक्यो, छिटो हटाउनुपर्‍यो । यस्तो गर्न दिएर हुन्छ ? महन्थजी !’