१५ चैत्र २०८०, बिहीबार

वीरगञ्जका विद्यालय बन्द नगरिने

birgunj mahanagarpalika

सरकारले शनिबारसम्म विद्यालय बन्दको आह्वान गरे पनि वीरगञ्जका शैक्षिक संस्था बन्द नहुने भएका छन् ।

देशका अन्य क्षेत्रमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको असर नदेखिएकोले विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको वीरगञ्ज महानगरपालिकाका दाबी छ । प्रदेश २ मा मंगलबार (आज) सम्म प्रदेश सरकारले होली पर्वको बिदा दिएको छ । बुधबारदेखि नियमित विद्यालय सञ्चालन गर्न महानगरपालिकाले मातहातका सबै सामुदायिक र निजी विद्यालयलाई अनुरोध गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए । काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । देशका अन्य स्थानमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको प्रतिकुल असर नदेखिएकोले विद्यालय बन्द नगर्ने निष्कर्षमा आफूहरु पुगेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनका अनुसार काठमाडौंलगायत देशका अन्य स्थानमा जस्तो वीरगञ्जमा वायु प्रदूषणले घर बाहिरै निस्कनै नहुने अवस्था वीरगञ्जमा छैन ।

यसबारेमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गरेको छ । सूचनामा ‘नेपाल सरकारले चैत १७ गतेदेखि २० गतेसम्म वायु प्रदूषणको कारण देखाई शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि सोको प्रभाव वीरगञ्ज महानगरपालिकामा नदेखिएको र विगतमा भएको शैक्षिक क्षतिलाई समेत ध्यानमा राख्दै महानगरपालिकाको अर्को आदेश नभएसम्म सबै शैक्षिक संस्थाहरुले पठनपाठन यथावत् राख्नुहुन आदेशानुसार जानकारी गराइन्छ ।’ उल्लेख छ । वीरगञ्ज महानगरमा सामुदायिक र निजी गरी झण्डै ३ सय विद्यालय रहेको छ।