११ बैशाख २०८१, मंगलवार

पछिल्ला राजनीतिक घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थप्याे : सभामुख

agni sapkota
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्ला राजनीतिक घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेकाे बताउनुभएकाे छ । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताउनुभएको हो ।

यस्तै उहाँले चुनाैतीका बावजुद पनि संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको भन्दै जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । गएकाे पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उहाँकाे भनाइ छ । निकै उतारचढाव र ठूलाे बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भइ संसदले पुनः गति लिएको पनि सभामुख सापकाेटाले बताउनुभयो ।

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाकाे गर्नुभएकाे छ । उहाँले भन्नुभयो, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव आएका छन्, ती सुझावकाे म उच्च सम्मान गर्छु ।’

यस्तै संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पार्नुभएको छ । अहिले केही अन्योलता देखिए पनि निराश हुन पर्ने स्थिति नरहेको उहाँले बताउनुभयो । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताउनुभयो ।