१४ बैशाख २०८१, शुक्रबार

नेपाल र रावललाई कारवाही गर्ने ओलीको संकेत

1616752441 pic 1200x560 1

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरणप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले नेपाल र रावलको स्पष्टीकरण कारवाहीको भागीदार हुन योग्य रहेको बताएका हुन् ।

‘दुईजना नेताको स्पष्टीकरण प्राप्त भएको छ । त्यो अत्यन्त नकारात्मक ढंगले आएकाले कारवाहीको भागीदार हुन योग्य छ, बाँकी दुई जनाको स्पष्टीकरण सकारात्मक कोणबाट आओस् भन्ने चाहन्छु,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘कारवाही कुन प्रक्रियाको हुन्छ, केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन्छौं भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’

क-कसको स्पष्टीकरण प्राप्त भयो भन्ने प्रश्नको जवाफमा भट्टराईले भने-‘पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र तत्कालीन उपाध्यक्ष भीम रावलको स्पष्टीकरण उपलब्ध भएको छ ।’ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपाल र रावलसँगै नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि स्पष्टीकरण सोधेका थिए ।

फरक-फरक स्पष्टीकरणमा नेता नेपाल र रावलले स्वयं अध्यक्ष ओलीलाई नै प्रश्नको वर्षा गरेका छन् । प्रमुख सचेतक भट्टराईका अनुसार ओलीले सर्वोच्चको फैसलाबाट एमाले ब्युँतिएपछि भएका निर्णयहरू फिर्ता नहुने जानकारी समेत बैठकमा गराएका थिए ।

खनाल(नेपाल पक्षले ओली पक्षमात्र बसेर गरेका निर्णयहरू मान्य नहुने बताउँदै आएको छ ।