१५ बैशाख २०८१, शनिबार

बालविवाह अन्त्यको लागि अभियान चलाउने प्रदेश २ सरकारको प्रतिबद्धता

balbibaha 768x439 1

प्रदेश नम्बर २ सरकारले बालविवाह लगायतका हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि प्रतिबद्धता जनाएको छ । आज प्रदेश २ को राजधानी जनकपुरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), सीआईएन र वल्र्ड भिजन इन्टरनेश्नलको सहकार्यमा भएको बालविवाहलगायत हानिकारक परम्परागत अभ्यास बिरुद्ध सरोकारवालाबीच भएको प्रदेश स्तरीय हातेमालो कार्यक्रममा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै खाले कुरीति अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बालविवाह अन्त्यका लागि राज्यलाई निजी क्षेत्र र नागरिकस्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्ने उहाँको भनाइ छ । प्रदेशबाट बालबालिका र महिला सशक्तिकरणसम्बन्धी कानुन बनिसकेका कारण बालविवाह पूर्ण रूपमा अन्त्य गर्न मद्दत मिल्ने मन्त्री यादवले उल्लेख गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभाका प्रमुख सचेतक परमेश्वर साहले बालविवाहलगायत अरु कुरीति अन्त्यका लागि आफू प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

बालविवाह अन्त्यका लागि शिक्षा र चेतनाको आवश्यक रहेको चर्चा गर्दै उहाँले सबै मिलेर मात्रै यसलाई सफल बनाउन सकिने बताउनुभयो । प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानीकुमारी तिवारीले प्रदेश २ मा अझै पनि शिक्षा र चेतना अभावका कारण बालविवाह रोकिन नसकेको बताउनुभयो ।

किशोरीहरूलाई पर्याप्त शिक्षा दिन सकेको खण्डमा बालविवाह बिस्तारै अन्त्य हुँदै जाने उहाँको भनाइ छ । प्रदेश सरकारबाट चलेको ‘बेटी पढाउ बेटी बचाउ, छोरी बीमा’ लगायत कार्यक्रमले पनि बालविवाह अन्त्य र किशोरीहरूको क्षमता वृद्धिमा सहयोग पु¥याएको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका प्रदेश सांसद मञ्जु यादवले बालविवाह उन्मुलन गर्ने हो भने अभिभावक र नातेदारलाई सचेतना बढाउने कार्यक्रमहरु तयार गर्नुपर्ने सुझाव दिनुभयो । ‘बालविवाह अन्त्यका लागि छोरा र छोरीबीचमा समान शिक्षा र स्वास्थ्यको आवश्यकता रहेको छ । यसका लागि अभिभावक नै गम्भीर हुनुपर्छ ।’ उहाँले थप्नुभयो ।

कार्यक्रममा सहभागी धर्म गुरुहरूले पनि बालविवाह अन्त्यको लागि प्रतिबद्धता जनाएका छन् । मुस्लिम धर्मका गुरु अब्दुल रहिम मिकरानीले सोँचमा परिवर्तन ल्याइ छोरीलाई निरन्तर रूपमा शिक्षामा जोड्न सकेको खण्डमा बालविवाह अन्त्य गर्न सकिने धारणा राख्नुभयो । इसाइ धर्मका पाष्टर दिनेश रायले बालविवाह रोक्नको लागि धर्मगुरुका बीचमा एकमत भएर मात्रै नपुग्ने र सरकारी तवरबाट कानुन कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

बालविवाह घटाउनको लागि सबैभन्दा पहिले दाइजो प्रथा घटाउनुपर्ने र त्यसको लागि शिक्षाको आवश्यकता रहेको उहाँको भनाइ छ । अर्का धर्मगुरु अनिसु रहमानले पनि बालविवाह हटाउनको लागि प्रदेश २ मा विद्यमान दाइजो प्रथा कम गराउनुपर्ने धारणा राख्नुभयो । प्रादेशिक बाल क्लबका अध्यक्ष आसुतोष झाले बालविवाह अन्त्यका लागि बनेका कानुनहरू कार्यान्वयन नभएकोमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा अधिकारकर्मी सुभद्रा आलेले जनचेतना र शिक्षा प्रवाह गर्दै बालविवाह अन्त्य गर्न सकिने र यसको लागि आफूहरू प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।