६ बैशाख २०८१, बिहीबार

नारायणगढ-बुटवल सडकः ‘तोकिएको अवधिमा सम्पन्न गर्न संसदिय समितिको निर्देशन

Butwal narayangadh 8 copy
फाइल फोटो

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड दिएको छ । सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउनुपर्ने औँल्याएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको अवधि लामो राखौँ तर तोकिएको अवधिमा सकाउनुपर्छ ।”

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निकुञ्ज क्षेत्रमा रुख काट्न लामो समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको बताउनुभयो । विगतमा सडक विभाग आफैँले रोपेको रुख काट्नसमेत वन विभागसँग अनुमति लिन लामो समय लागेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले पनि काममा ढिला गरिरहेको छ ।”

समितिका सदस्य जीपछिरिङ लामाले देशभरका सडक निर्माण गर्दा रुख काट्न र विद्युत्को पोल हटाउन समस्या हुने गरेको बताउनुभयो । समितिका सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा समेत एउटा मन्त्रालयमै दुई वर्षसम्म फाइल अड्किँदा पूर्वाधार निर्माण अघि बढ्न सक्दैन भन्नुभयो । समितिका सदस्य केदार सिग्देलले पूर्व तयारी नगरी सडक निर्माण शुरु गर्दा समस्या आउने गरेको उल्लेख गर्नुभयो भने अर्का सदस्य विना श्रेष्ठले अहिलेको अवस्थामा हेर्दा नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नहुने देखिएको बताउनुभयो । समितिका सदस्य रामबहादूर विष्टले नयाँ बन्ने राजमार्गमा शौचालय, रेष्टुरेन्ट, बस बिसौनीलगायतको व्यवस्थापन हुनुपर्ने औँल्याउनुभयो ।

समितिका सदस्य दामोदर भण्डारीले पूर्व–पश्चिम राजमार्ग दीगो, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो भने समितिका सदस्य टेकबहादुर बस्नेतले सडक विभागले मजदुरका समस्या समाधानमा ध्यान दिनुपर्छ भन्नुभयो । समितिका सदस्य रङ्गमति शाहीले सडक निर्माणमा सधैँ ढिलाइ भइरहेको उल्लेख गर्नुभयो ।