१३ बैशाख २०८१, बिहीबार

‘अहिले नै लकडाउन गर्ने, सीमा नाका बन्द गर्ने सरकारको सोच छैन’

lockdown 20days 9
फाइल फोटो

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ को संक्रमण रोकथामका लागि लकडाउन नगरिने बताएका छन् । कोभिड १९ को दोस्रो लहरबाट जोगिँदै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने उनले बताएका हुन् ।

बिहीबार कुराकानी गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द र लकडाउन गर्ने सरकारको सोच नभएको बताए । ‘कोभिडको दोस्रो लहरको चर्चा चलिरहेकाले हामी जोगिनु पर्छ । हामीले स्वास्थ्य मापदण्ड अपनाएर आर्थिक र सामाजिक क्रियाकलापलाई जारी नै राख्छौं । सरकारले अहिले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन,उनले भने ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको बताए । कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

‘मुख्यगरी हामी कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना जस्ता विषयमा बढी केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउन गर्नुपर्ने निर्णय लिने गरी बजेट लिएर आउँछौं, ’ उनले भने । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि स्पष्ट पारे ।