१५ चैत्र २०८०, बिहीबार

आफूलाई जनप्रतिनिधिले जनताका सेवक ठान्नुपर्छ : प्रधानमन्त्री

kp sharma oli pm
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि जनताका सेवक भएको बताउनुभएको छ । विकास निर्माण, सुशासन, समुन्नत समाज निर्माण र जनताको हक अधिकार स्थापित गर्नका लागि जनताले जनप्रतिनिधिलाई सेवकका रूपमा निर्वाचित गरेर पठाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाल नगरपालिका सङ्घको २८औँ वार्षिकोत्सवमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि जति उच्च पदमा भयो, त्यति नै बढी सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,

“स्थानीय तहका जनप्रतिनिधिले समाजलाई सकारात्मक रूपान्तरण, राज्यको सेवा नागरिकसम्म पु¥याउने, मानवीय सेवा प्रदान गर्ने र विकासको गतिलाई अगाडि बढाउने भूमिकामा क्रियाशील रहनुपर्छ ।”

कोरोना रोकथाम र नियन्त्रण गर्ने कार्यमा स्थानीय तहले गरेको काम प्रशंसनीय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले स्थानीय तहको भूमिका महìवपूर्ण र असाधारण बन्दै गएको छ ।” स्थानीय तहलाई अधिकार सम्पन्न गर्नका लागि सरकारले कहिल्यै पनि नहिच्किचाएको भन्दै उहाँले कार्य क्षमताका आधारमा स्थानीय तहलाई बजेट उपलब्ध गराउँदै जाने बताउनुभयो । नेपालमा सङ्घीय सरकार, सातवटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकार भएको र सबै सरकारको उद्देश्य समुन्नत समाज निर्माण गर्ने भएको भन्दै प्रधानमन्त्री ओली भन्नुभयो, “अब कसैले पनि बेसहारा बन्नु पर्दैन ।

” राम्रा कामका लागि प्रतिस्पर्धा गर्न स्थानीय तहलाई निर्देशन गर्दै उहाँले सङ्घीय सरकारले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । सङ्घीय सरकारले स्थानीय तहलाई आवश्यक साधन स्रोत उपलब्ध गराउने भन्दै नेपालका लागि स्थानीय तह नयाँ अभ्यासमा भएकाले एकैपटक स्थानीय तह सबै दृष्टिकोणले सक्षम नहुने उहाँले स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले तीनै तहका जनप्रतिनिधिको जिम्मेवारी समाजको रूपान्तरणकै लागि भएकाले सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । माछा, मासु र अण्डामा नेपाल आत्मनिर्भर बन्दै गएकाले अब अरू उत्पादनमा नेपाल क्रमिक रूपमा आत्मनिर्भर बन्दै वस्तु निर्यात गर्नेतर्फ अगाडि बढ्ने उहाँले बताउनुभयो । त्यस अवसरमा ओलीले सङ्घले प्रकाशन गरेको “रणनीतिक योजना” पुस्तकको विमोचन गर्नुभयो ।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहको भूमिका सधैँ प्रशंसनीय रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य पूर्वाधार विकास र प्रभावकारी सेवा प्रवाहमा स्थानीय तहको भूमिका प्रशंसनीय रहेको उहाँले स्पष्ट गर्नुभयो ।