१६ चैत्र २०८०, शुक्रबार

लोक सेवा आयोग पदाधिकारीविहीन, कर्मचारी भर्ना र बढुवा ठप्प

for slider lok sewa

अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोक सेवा आयोग पदाधिकारीविहीन भएको छ । पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएको छ ।

आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो । सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो । उनीहरू २०७१ चैतमा नियुक्त भएका थिए । यसअघि सात जनाको आयोग थियो । नयाँ संविधानअनुसार अब पाँच जना पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को सिफारिसमा सरकारले आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत भएको भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले विरोध जनाइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका विभिन्न संवैधानिक आयोगमा सोही परिषद्को सिफारिसमा सरकारले ३३ जना पदाधिकारी तथा सदस्यको नियुक्ति गरिसकेको छ ।

अध्यादेशको विरोध गरिरहेको प्रमुख प्रतिपक्षी कांग्रेसले परिषद्को बैठकमा भाग लिन नैतिक अप्ठेरो पर्ने देखिएको छ । कांग्रेसले अध्यादेशको विरोधमा संसद् सचिवालयमा सूचना दर्ता गराइसकेको छ । यस्तो अवस्थामा लोक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्ति हुन अप्ठेरो देखिएको छ ।आजको कान्तिपुर दैनिकबाट