१४ बैशाख २०८१, शुक्रबार

यसबर्ष भिडभाड हुनेगरी होली नखेलौं, घरमै बसेर मनाऔं: चितवन प्रशासन

cdo chitwan

जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । भिडभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मास्क लगाएर घर परिसरमा मात्रै पर्व मनाउन आग्रह गर्नुभएको छ ।

लामिछानेले भन्नुभयो–‘संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सूचना जारी गरेर हामीले सचेत गराइसकेका छौं ।’ सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । होली खेल्दा भौतिक दुरी कायम गर्नुपर्ने लामिछानेले बताउनुभयो ।

‘भिडभाड नगरिदिन हामी पूर्व जानकारी गराउँछौँ’ प्रजिअ लामिछानेले भन्नुभयो,–‘जबर्जस्ती रंग दल्नेलाई अभद्र व्यवहार मुद्दामा कानुनी कारवाही गर्छौं ।’ चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाईदै छ । चितवनमा भने दुवै दिन होली पर्व मनाइन्छ ।

स्वास्थ्य मन्त्रालयले चैत ८ मा विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो । विगतमा नारायणी नदी किनार लगायतका क्षेत्रमा ठुलो भिड जम्मा भएर होली खेलिने परम्परा थियो । गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।