१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्ज–पोखरा उडानका यात्रु बढे

nepalguunj pokhara airport

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित केही समय अघि शुरु गरिएको पोखरा–नेपालगञ्ज उडानमा यात्रुको सङ्ख्या बढ्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।

कोभिड–१९ को कारण सुस्ताएको पर्यटनलाई गति दिन फागुन ७ गते निजी क्षेत्रको प्रयासबाट उडान शुरु गरिएको थियो । नेपाल एशोसिएशन अझ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा)को टोली सहित नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशम्शेर जबरा सहितको जनप्रतिनिधि र पर्यटन व्यवसायी सीता एयरलाइन्स चार्टर उडानबाट पोखरा आएर यसको औपचारिक शुभारम्भ गनुभएको थियो ।

त्यसयता हप्तामा दुई दिन मात्र उडान हुँदै आएकामा यात्रु सङ्ख्या बढेपछि अहिले हप्तामा तीन दिन उडान हुन थालेको छ । पोखरा–नेपालगञ्ज सिधा उडानसँगै यात्रुको सङ्ख्या बढेपछि अहिले यस क्षेत्रका व्यवसायीले पनि खुशी व्यक्त गरेका छन् । “गण्डकी नाट्टा र नेपालगञ्ज नाट्टा च्याप्टरको संयुक्त प्रयासबाट उडानको शुरुआत गरेका थियौँ, अहिले यात्रुको सङ्ख्या बढिरहेको छ”, नाट्टा गण्डकीका अध्यक्ष सञ्जकान्त सिग्देलले भन्नुभयो ।

अहिले पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढिरहेको छ । उहाँले उडानबाट आउने ६० प्रतिशत पर्यटकीय दृष्टिकोणले घुमघाम र ४० प्रतिशत पारिवारिक भेटघाटका कारण आउने गरेको बताउनुभयो । देश दर्शन कार्यक्रमलाई लक्षित गरेर हप्तामा दुई दिन शुक्रबार र आइतबार भइरहेको उडान यात्रुको सङ्ख्या बढ्न थालेपछि बुधबार पनि थपेर तीन दिन बनाइएको सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतसँगको नाका खुलेसँगै भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्जबाट पोखरा हुँदै जोमसोमसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

यसको लागि अन्य एयरलाइन्ससँग पनि छलफल भइरहेको छ । अहिले पोखरा र आसपासबाट अधिकांश टोली बाँके, बर्दिया र रारा तालको ‘टुर प्याकेज’मा जाने गरेको सिग्देलले बताउनुभयो । नाट्टा नेपालगञ्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पनि उडान सेवा पुनः सञ्चालनसँगै यात्रुलाई निकै सहज बनाएको बताउनुभयो ।

“लामो समयपछि एउटा प्रयासको शुरुआत गरेका थियौँ, यसले सकारात्मक नतीजा दियो’’, सिग्देलले भन्नुभयो, ‘‘अहिले यात्रुको सङ्ख्या बढ्दै गएको छ, यसले हामी निकै उत्साहित छौँ ।” अहिले जसरी यात्रुको सङ्ख्या बढ्दै गए उडान सङ्ख्या फेरि बढाउनु पर्ने भनाइ उहाँको छ । “अहिले अग्रिम बुकिङ शतप्रतिशत हुन थालेको छ, यसरी नै यात्रुको सङ्ख्या बढ्यो भने उडान पुनः थप्नुपर्छ”, सिग्देलले भन्नुभयो ।

विशेषगरी गण्डकी धौलागिरिबाट बाँके, बर्दिया बसाइसराइ गरेर आएकालाई यस उडान सहजताले आफन्तजनसँग भेटघाट गराउनेदेखि आफ्नो जन्मथलोसम्म पुर्‍याउने गरेको उहाँको भनाइ छ । पोखरा र आसपासका आन्तरिक पर्यटक बाँके, बर्दिया र रारा तालसम्म आउनेको सङ्ख्या पनि बढ्दै गएको र आगामी दिनमा यसको सङ्ख्या अझै बढ्न सक्ने उहाँको विश्वास छ ।

उहाँका अनुसार यस बीचमा बाँके, बर्दियाबाट केही विदेशी पोखरा घुम्न गएका छन् भने भारतीय पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले सीता एयरको हप्तामा तीन दिन १८ सिटको जहाजबाट सेवा दिइरहेको छ । जहाजको भाडादर यसअघि रु पाँच हजार थियो भने भाडा वृद्धिसँगै रु पाँच हजार २०० बनाइएको छ ।