१४ बैशाख २०८१, शुक्रबार

नक्कली नोटको बिगबिगी, नोट बनाउने मेसिनसहित चार पक्राउ

police pakrau 1024x363 1

चितवनमा नक्कली नोट बनाइने गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउनेलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले नक्कली नोट छाप्ने मेशिनसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।
चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई समान खरिद गरिरहेका थिए ।

उनीहरुलाई पक्राउ गरिसके पश्चात अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको एसपी अधिकारीले जनाए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ बस्ने २८ वर्षीय विश्वराम राई र सोही स्थानका २४ वर्षीय राजाराम दनुवार रहेका छन् ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप २ थान, कार्डरिडर थान १, प्रिन्टर (फोटोकपी मेसिन) थान २, हार्डडिक्स थान १ बरामद गरिएको छ । राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो ।

यस्तै मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पस प्रिन्टर थान १, नक्कलीनोट छाप्नको लागि प्रयोग भएकोे फोटोकपी पेपर पाना २४, एउटा एफो पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर थान १ बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो । पक्राउ परेकाव्यक्तिहरू उपर संगठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उनले जनाए ।