६ आश्विन २०७८, बुधबार

स्ववियु निर्वाचन जेठ ३० गते

tribhuvan university

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचन सहित विभिन्न पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्ने गरी विश्वविद्यालय र विद्यार्थीबीच सहमति भएको हो ।

विश्वविद्यालयले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । नेविसङ्घ विश्वविद्यालय समिति र विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौता मध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो गरी सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशित गर्ने, त्रिविको शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिनुभयो ।

यस्तै, त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवं परामर्श गरी दुई महिनाभित्र राय सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा विश्वविद्यालयको तर्फबाट शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिको तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गर्नुभएको छ । अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्राडा भुसालले जुस खुवाएर अनशन तोडाउनु भएको थियो ।