१२ बैशाख २०८१, बुधबार

दिवा खाजाले विद्यार्थी नियमित

student
फाइल फोटो

चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नर्सरीलाई मात्रै नगरपालिकाले खाजाको व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताउनुभयो ।

दिवा खाजामा महिनाको एक दिन सो विद्यालयमा मासु पुलाउको समेत व्यवस्था गरिएको छ । त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलो तालिका बनाएर दिइने गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो । मासु पुलाउ तालिकामा नभए पनि महिनाको एक दिन दिइएको छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कूल विद्यार्थी ६५७ छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएका छन् । त्यसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि कम्प्युटर कक्षा वृद्धि, ५ कक्षासम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म गणित तथा विज्ञान अङ्ग्रेजी माध्यमबाट पढाइ, निगरानी, अनुगमन, शैक्षिक परामर्श, अभिभावक भेला, नर्सरीदेखि कक्षा ५ सम्म एउटा कक्षा प्रोजेक्टरको माध्यमबाट सिकाइ हुँदै आएको छ ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । “सामुदायिक विद्यालयको नजिता क्रमशः सुधार हुँदैछ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “सबै जिम्मेवार भए निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ ।”

दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने

चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२÷३३÷११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म विद्युत् कटौती हुनेछ ।

मिडिया नेपाल चितवनको पुनःगठन

मिडिया नेपाल चितवनको पुनःगठन गरिएको छ । बिहीबार भएको कार्यक्रममा समीक्षा पुरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन हुनुभएको छ । सदस्यमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिष्मा गुरुङ, दीपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण रानामगर, अनिशा खनाल र शर्मिला विक रहनुभएको छ । सल्लाहकारमा दीपक पौडेल रहनुभएको छ । वाग्मती प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रीना गुरुङको उपस्थितिमा मिडिया नेपालको कार्यसमिति पुनःगठन गरिएको हो ।

ज्येष्ठ नागरिक आराम केन्द्र हस्तान्तरण

बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुरमा ज्येष्ठ नागरिकलाई आराम केन्द्रको निर्माण गरी विकास टोल सुधार समितिलाई हस्तान्तरण गरेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रतिनिधि, स्थानीय समुदाय र युवा सदस्यको उपस्थितिमा वडाध्यक्ष यमलाल कँडेलले नागरिक आराम केन्द्रको उद्घाटन गर्नुभएको हो ।

नागरिक आराम केन्द्रले ज्येष्ठ नागरिकको कल्याण र उहाँहरुको जीवनको गुणस्तर बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । केन्द्रमा एक मिनी लाइब्रेरी, आराम गर्न आरामदायक फर्निचर र फुर्सदको समय सदुपयोग गर्न सांकृतिक वातावरणका लागि वाद्यवादन पनि राखिएका छन् ।