११ बैशाख २०८१, मंगलवार

सबै सरकारी अस्पतालमध्ये नुवाकोटको त्रिशूली अस्पताल शीर्ष स्थानमा

trishuli hospital

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पताललाई अत्याधुनिक उपकरणले सुसज्जित गरी अधिकतम् सेवा सुविधा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नुवाकोटको त्रिशूली अस्पतालले प्रवाह गर्ने न्यूनतम् सेवा स्तर मापनमा देशका सबै सरकारी अस्पताल मध्ये शीर्ष स्थान प्राप्त गरेकोमा आज एक बधाई सन्देश जारी गर्दै उहाँले प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरी गुणस्तरीय सेवा प्रवाह गर्न सरकार तयार रहेको बताउनुभयो ।

“नुवाकोटको त्रिशूली अस्पताल परिवारलाई अस्पतालले प्रवाह गर्ने न्यूनतम् सेवा स्तर मापनमा देशका सबै सरकारी अस्पतालमध्ये ८८ अङ्क प्राप्त गरी सबैभन्दा शीर्ष स्थानमा पर्न सफल भएकामा धेरै धेरै बधाई ज्ञापन गर्दछु । प्रदेशमा रहेका सात वटा अस्पताल प्रदेश सरकार मातहतमा आएपछि सेवा प्रवाह चुस्त र गुणस्तरयुक्त रुपमा सञ्चालन भइरहेको छ भन्ने उदाहरण पनि हो, उक्त नतिजा”, सन्देशमा मुख्यमन्त्री पौडेलले भन्नुभएको छ, “अघिल्लोपटक भक्तपुर अस्पताल र यो पटक नुवाकोटको त्रिशूली अस्पतालले प्राप्त गरेको सफलताबाट हामीहरु उत्कृष्ट भइरहेको सावित गरेको छ ।”