१५ बैशाख २०८१, शनिबार

एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि

madhav kumar nepal and jhala nath khanal

नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आज सुरु हुँदैछ ।

बिहान ११ बजे भेला सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिनुभयो । गएको फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै माधव–झलनाथ समूह थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो समूहले आज र भोलि काठमाण्डाैमा राष्ट्रिय भेला गर्न लागेको हो । भेलामा देशभरबाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने नेता भट्टराईको भनाइ रहेको छ । माधव–झलनाथ समूहले आज र भोलिको भेला नरोक्ने र शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ । यस्तै यो समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने प्रक्रिया सुरु गरेको छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमालेलाई फेरि विभाजनतर्फ लाने काम ओली समूहबाट भैरहेको माधव–झलनाथ समूहको आरोप छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभइ सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पङ्क्तिलाई परिचालन गरेर मात्र पार्टी बलियो हुने यो समूहको निष्कर्ष छ । एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवाैँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेको नेपाल–खनाल समूहले निकालेको विज्ञप्तिमा भनिएको छ ।