१४ बैशाख २०८१, शुक्रबार

मुलुकको राजनीतिको अवस्था निकै तरल : नेता सिटौला

krishna sitaula
फाइल फोटो

नयाँ सत्ता समिकरणमा अन्यौलता छाएको बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अबको सरकारको नेतृत्व काँग्रेसले लिनु पर्ने देशको आवश्यकता रहेको बताएका छन् ।

यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग निरन्तर छलफल भइरहेको उनले जानकारी समेत दिएका छन् । मंगलबार प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संसदीय प्रणाली बिरुद्ध कदम चालेकाले उनीसँग सहकार्य नहुने स्पष्ट पार्दै उनले माओवादी केन्द्र र जसपासँग मिलेर काँग्रेसले सरकारको नेतृत्व गर्ने गरि निरन्तर छलफल र सम्वाद भइरहेको र चाडै परिणाम आउने बताए । ओलीले देश र संविधानलाई जोखिममा पारेकाले प्रधानमन्त्री भएर निरन्तर अघि बढ्नु नैतिकताले पनि दिँदैनन् नेता सिटौलाले भने, “त्यसैले उहाँले राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ ।” उनले आफ्नो पार्टी भित्र पनि अबको संयुक्त सरकारको नेतृत्व शेर बहादुर देउवाले नै लिनु पर्ने धारणा बनेको भन्दै देशलाई जोगाउन, संबैधानिक संकट हटाउन र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि बैकल्पिक शक्तिको रुपमा काँग्रेसले नेतृत्व लिनु पर्ने मुलुकको आवश्यकता रहेको बताए ।

मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै नेता सिटौलाले अहिले सबै मिलेर ओलीलाई सत्ताबाट बाहिर ल्याई मुलुकलाई संकटबाट जोगाउनु नै पहिलो प्राथमिकता भएको बताए । एक अर्को प्रसङमा उनले आगामी भाद्र महिनामा हुने तय भएको पार्टीको महाधिवेशन बटम लाइन भएकाले कुनै पनि बहानामा त्यसलाई सार्न नहुने र तोकिएकै समयमा अधिवेशन सम्पन्न हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।