४ बैशाख २०८१, मंगलवार

कांग्रेस सङ्कटमा छः पौडेल

ramchandra

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताउनुभएको छ । बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताउनुभयो ।

“लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भन्नुभयो, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।” उहाँले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कसका कारण सकिँदैछ भन्ने कुरा छर्लङ्ग भएको बताउनुभयो ।

कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेसप्रति जनता आउन नसक्नुका पछाडि कांग्रेसको नेतृत्व नै कमजोरी रहेको भन्दै अब सच्चिएर जानुपर्ने बताउँदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उल्लेख गर्नभयो ।

“अब माथिबाट कांग्रेस सुध्रिन्नजस्तो छ”, पौडेलले भन्नुभयो, “जनस्तरबाटै उपचार विधि खोजौँ ।” उहाँले राष्ट्रको सङ्कट बचाउन कांग्रेस सक्षम भए पनि आन्तरिक किचलो अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशको हित हुन्छ भने देउवाको नेतृत्वमा कांग्रेस सरकारमा जान तयार रहेको बताउनुभयो ।

शिक्षकले विद्यार्थीलाई संविधान पढाउन सक्नुपर्ने भन्दै संविधान पढाएपछि कांग्रेसमा आउ भन्नै नपर्ने उहाँको तर्क छ । यसो भन्दैमा विद्यालयलाई राजनीति गर्ने थलो नगराउन नेता पौडेललेको भनाइ छ ।